
भैरहवा, २७ चैत। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनका खेलमा साई ग्लोबल क्रिकेट क्लबले दोस्रो जित निकालेको छ । गोलपार्क क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै साई ग्लोबलले दोस्रो जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले ३३ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा २ सय १८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा जितेन्द्र केवटले ९७, शैलेन्द्र यादवले अविजित ३६, जावेद खानले २८ र अजय चाईले नटआउट २३ रनको योगदान गरे । बलिङमा गोलपार्कका सुप्रिम कंडेलले ३ तथा प्रशान्त अर्याल र अनिश जोय गुरुङले १–१ विकेट लिए ।
Advertisement

Advertisement
Advertisement

गोलपार्कले ४८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय १३ रन बनायो । उसका लागि अनिश जोय गुरुङले १ सय २८ रनको शतकीय पारी खेले यस्तै, अशुफक खानले १९, अर्पण तिमिल्सिनाले १५ र रिक्कीराम पुनले १४ रन बनाए । बलिङमा साई ग्लोबलका सहज अर्यालले ३, शैलेन्द्र यादवले २ तथा शिवकुमार गुप्ता, सत्यम हरिजन र जावेद खानले १–१ विकेट लिए । खेलमा जितेन्द्र केवट प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

