


काठमाडौं,३ बैशाख। सरकारले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत नि:शुल्क शैय्या (बेड) को विवरण अब अनलाइन पोर्टलमार्फत सार्वजनिक गर्न थालेको छ।
‘फ्रि हेल्थ पोर्टल’ मार्फत कुन अस्पतालमा कतिवटा नि:शुल्क शैय्या खाली छन् र उक्त शैय्यामा को-को बिरामी उपचाररत छन् भन्ने विवरण रियल-टाइममा हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो।

नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगर्ने ग्यारेन्टी गरेको छ।
सोही संवैधानिक म्यान्डेट र स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० ९घ० मा उल्लेखित व्यवस्थालाई कडाइका साथ लागू गर्न यो अनलाइन प्रणाली सहयोगी सिद्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यसअन्तर्गत सरकारी, निजी र सामुदायिक सबै अस्पतालले कुल शैय्याको १० प्रतिशत निःशुल्क शैय्याको विवरण नियमित रुपमा अपडेट गर्नुपर्नेछ। पोर्टलमा बिरामीको भर्ना मिति, बेड नम्बर, विभाग र रोगको निदानजस्ता विवरणहरु समेत समावेश हुनेछन्।
सरकारले यसलाई आगामी दिनमा ‘डिजिटल पेसेन्ट रेकर्ड सिस्टम’सँग जोड्ने योजना बनाएको छ । जसले स्वास्थ्य सेवामा पारदर्शिता र पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ।

