
भैरहवा । रुपन्देहीका निर्माण व्यवसायीहरुले निर्माण सामग्रीको मूल्य अत्याधिक वृद्धि र अभावका कारण निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थ, सिमेन्ट, छड, अलकत्रा लगायत सामग्रीको मूल्य निरन्तर बढिरहेको र नदीजन्य सामग्रीको चरम अभावले निर्माण कार्य प्रभावित भएको जनाएको छ। ठेक्का सम्झौता गर्दा कायम दरभन्दा धेरै मूल्य बढ्दा पनि सोहीअनुसार भुक्तानी नपाएको गुनासो व्यवसायीहरुले गरेका छन्।
Advertisement

Advertisement
Advertisement

संघका कार्यवाहक अध्यक्ष प्रितम रौनियारले मूल्यवृद्धिले व्यवसायीलाई गम्भीर असर पारेको भन्दै मूल्य समायोजन, ठेक्काको म्याद थप र राहतको माग गरेका छन्। ‘सरकारले निर्माण उद्योगमा आपतकाल घोषणा गरि व्यवसायीलाई राहत दिनु पर्ने र बढ्दो मूल्य बृद्धिलाई मूल्य समायोजन गरि सबै अवधिको ठेक्काको समय थप गर्नु पर्ने माग व्यवसायीको हो’ उनले भने, ‘अन्यथा व्यवसायीले लिएको ठेक्काबाट हात उठाउनुको बिकल्प छैन ।’
व्यवसायीहरुले साना ठेक्कामा मूल्य समायोजन नहुने, भुक्तानी ढिलाइ हुने, गुणस्तरहीन सामग्री प्रयोग हुने र प्रशासनिक झन्झट बढी हुने जस्ता समस्या पनि औंल्याएका छन्।
संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ‘प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका २ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा समय थप एवं मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडितहरुको समस्या सम्बोधन गर्न संघ सरकार समक्ष अपिल गर्दछ।’
निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले सम्झौता अनुरुप निर्माण सम्पन्न नगरेको भनेर सरकारले व्यवसायीलाई कारवाही गर्ने हो भने पहिला निर्माण सामाग्रीको सहज उपलब्धता र मूल्य समायोजन मार्ग निर्देशिका तत्काल लागु गर्नु पर्ने बताए ।
रुपन्देहीमा करिब ३० अर्ब रुपैयाँका निर्माण आयोजना सञ्चालनमा छन्, जसमा झण्डै १५० व्यवसायी र २० हजार मजदुर संलग्न रहेको बताइएको छ ।

