
काठमाडौं,६ बैशाख। वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले अनलाइन पोर्टलमार्फत सेवा फेसलेस बनाएको हो।
बैशाख ४ मा त्रिभुवन विश्वविद्यालयसँग एपीआई सम्झौता गरिएको छ भने काठमाडौं विश्वविद्यालयसँग यसअघि नै सहकार्य भइसकेको छ। यससँगै विद्यार्थीले अनलाइन आवेदन दिन, प्रक्रिया पूरा गर्न र प्रमाणपत्र आफैं प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

यसअघि स्नातकोत्तर वा सोभन्दा माथि अध्ययनका लागि आवेदन गर्दा विश्वविद्यालयको प्रमाणपत्र रुजु गर्न कार्यालयमै जानुपर्ने बाध्यता थियो। अब त्रिवि र केयूको प्रणालीसँग अन्तरआवद्धता भएपछि रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा विवरण स्वतः प्रमाणीकरण हुने भएकाले भौतिक उपस्थितिको आवश्यकता हटेको छ।
एनओसी शुल्क पनि पूर्ण रुपमा अनलाइनमार्फत तिर्न मिल्ने भएको छ भने स्वीकृत प्रमाणपत्र प्रोफाइलबाट डाउनलोड गर्न सकिनेछ। क्यूआर कोडसहितको प्रमाणपत्र स्क्यान गरेर समेत प्रमाणित गर्न सकिने व्यवस्था गरिएको एनओसी शाखाले जनाएको छ।

