
कमल रायमाझी
बर्दिया (राजापुर), ९ बैशाख। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले बर्दियाको राजापुरमा निर्माणाधीन सेवा केन्द्र भवनबारे सामुदायिक स्तरमा छलफल कार्यक्रम सम्पन्न भएको छ।
संयुक्त राष्ट्रसंघ परियोजना सेवा कार्यालय (यूएनओपीएस) को समन्वयमा नेपाल सरकार तथा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित “महिला उत्थानशील परियोजना” अन्तर्गत इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाको परिसरमा उक्त भवन निर्माण भइरहेको छ।
Advertisement

Advertisement
Advertisement

निर्माणपूर्व चरण (प्री–कन्स्ट्रक्सन फेज) अन्तर्गत आयोजना गरिएको सामुदायिक परामर्श बैठकले भवनलाई थप व्यवस्थित, पहुँचयोग्य र सेवामुखी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने यूएनओपीएसले जनाएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र सर्वसाधारणले सक्रिय सहभागिता जनाउँदै भवन निर्माणका विभिन्न पक्षमा सुझाव दिएका थिए। सहभागीहरुले विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुका लागी सुरक्षित, गोपनीय र सहज सेवा उपलब्ध गराउने खालको संरचना निर्माण गर्नुपर्नेमा जोड दिए।
हाल प्रहरी कार्यालयमा लक्षित समूहका लागि पर्याप्त र उपयुक्त सुविधा अभाव रहेको उल्लेख गर्दै नयाँ भवनबाट सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने अपेक्षा व्यक्त गरिएको छ।
यूएनओपीएसको इन्जिनियर प्रेक्षा सिंहका अनुसार, नेपालका विभिन्न जिल्लामा यस्ता सेवा केन्द्रहरु निर्माण भइसकेका छन् र उक्त संरचनाले सेवाग्राहीलाई अपेक्षाकृत सहजता प्रदान गरेका छन्। सोही अनुभवलाई मध्यनजर गर्दै राजापुरमा पनि गुणस्तरीय संरचना निर्माणमा ध्यान दिइएको उनले बताइन् ।
राजापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वडा नं.४ का वडाध्यक्ष बिदुर पोखरेल, इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख कविन्द्रसिंह बोहरा, महिला सञ्जालकी सदस्य बसन्ती थारु लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
पछिल्लो समय यूएनओपीएसले नेपालका विभिन्न सामाजिक तथा पूर्वाधार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यसले स्थानीय तहमा सेवा पहुँच विस्तार र सामाजिक समावेशितालाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरुले बताएका छन्।

