
बुटवल,१२ बैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजारमा ल्याइएका तरकारी बिक्री नभएको कारणले किसानहरुले असन्तुष्टी जनाएका छन् ।
बजारमा ग्राहक अभावका कारण तरकारी विक्री नहुँदा ल्याइएका तरकारी कुहिएर फाल्नुपर्ने अवस्था आउँदा उनीहरु असन्तुष्टी जनाएका हुन् । काउली, मुला, फूलगोभी जस्ता तरकारी बिक्री हुन नसकेको गुनासो छ।
Advertisement

Advertisement
Advertisement

बुटवल उपमहानगरपालिका–६ मा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र लगायत अन्य हाटबजारमा समेत बिक्री गर्न नपाउँदा तरकारी सुकेर तथा कुहिएर नष्ट हुने अवस्था आएको किसानहरूले बताएका छन्। व्यापारीहरुको सिन्डिकेट र बजार व्यवस्थापनको कमजोरीका कारण उत्पादन बिक्रीमा समस्या भएको उनीहरुको आरोप छ।
नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष रीता केसीले बुटवलस्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रमा व्यापारीहरुको सिन्डिकेटका कारण स्वदेशी कृषि उपजको बिक्री वितरणमा समस्या उत्पन्न भएको आरोप लगाइन्।
उनका अनुसार भारतीय तरकारी तथा फलफूलले सहजै बजार पाउने तर स्वदेशी उत्पादनले स्थान नपाउने अवस्था दुःखद र चिन्ताजनक हो। उनले बुटवल कृषि उपज थोक बजार केन्द्रको पुन: टेन्डर प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै किसानका लागि छुट्याइएका सटरहरु व्यापारीहरूले कब्जा गरेको आरोप लगाइन्।

