


कपिलवस्तु,१४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले कपिलवस्तु क्षेत्र नम्बर ३ को समस्याबारे जानकारी लिएकी छन्।
प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नजितेको क्षेत्रको समस्या र मागहरुको सहज सम्बोधन गर्ने उद्देश्यले रास्वपाले ४० जना समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकेको थियो । जसअनुसार अग्रवाललाई कपिलवस्तु क्षेत्र नम्बर ३ को जिम्मेवारी दिइएको थियो ।

जिम्मेवारी अनुसार अग्रवालले क्षेत्रको कृष्णनगर नगरपालिकामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले जनप्रतिनिधि, सुरक्षा अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय बासिन्दाहरुसँग क्षेत्रगत समस्याबारे जानकारी लिएकी हुन् ।
उनले सरकारको मुख्य उद्देश्य नै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र जनचाहना अनुसार विकास गर्ने रहेको बताइन् ।
उनले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासका क्षेत्रमा स्थानीयले उठाएका विषयहरु आफूले टिपोट गरेको जनाउँदै विस्तारै ती समस्या समाधानमा पहल गर्ने जनाइन् ।क्षेत्रको विकासमा आवश्यक पर्ने बजेट विनियोजन र योजनाहरुको छनोटमा सबैको रायसुझाव लिएर अघि बढ्ने उनको भनाई छ ।

