


काठमाडौं,२२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।
आइतबार राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरेको सोही अध्यादेश सोमबार बसेको मन्त्रीपरिषद बैठकले पुनः दोस्रोपटक सिफारिस गरी राष्ट्रपतिसमक्ष पठाएको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले आज अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको उल्लेख छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुन्छ। परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष रहन्छन् ।
अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ६ जनामध्ये ४ जना सदस्य उपस्थित भए गणपुरक पुग्ने र उपस्थित सदस्यको बहुमत ३ जनाबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको बताइएको छ।


