


परासी,२५ बैशाख । पश्चिम नवलपरासीमा जीवित व्यक्तिको नै मृत्युदर्ता प्रमाणपत्र जारी गरेको अभियोगमा जिल्ला अदालतले वडाध्यक्षसहित तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
सुस्ता गाउँपालिका–५ रामनगरका ६६ वर्षीय जमालुद्दिन मुसलमान जीवित रहेकै अवस्थामा उनको मृत्यु दर्ता गरिएको घटनामा वडाअध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी र तारिख मियालाई थुनामा पठाउने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए।

उनीहरुमाथि ‘झुठा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेरगराएको सम्बन्धी कसुर’ मुद्दा दायर भएको थियो। घटनामा संलग्न ११ आरोपीमध्ये दुई जना धरौटीमा रिहा भएका छन् भने ६ जना फरार छन्।
प्रहरी अनुसन्धान अनुसार, तारिख मियाले मृतक आफ्ना बाबुको नामसँग मिल्ने जीवित व्यक्ति जमालुद्दिन मुसलमानको नाम प्रयोग गरी मृत्यु दर्ता गराएका थिए। आफ्नै मृत्यु दर्ता भएको थाहा पाएपछि जमालुद्दिनले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।

