
भैरहवा, २८ बैशाख। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै वेष्टर्न क्रिकेट क्लबले जित निकालेको छ ।
टस जितेर ब्याटिङमा रोजेको बुद्धले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सक्यो। बुद्धलाई सस्तैमा समेट्नका लागि वेष्टर्नका अभिषेश गौतमले ४, सुझाव थापाले ३ तथा सन्देश थापा र कलम मुसलमानले १–१ विकेट लिए । बुद्धका मिथलेश यादव र दिलसाद अलीले १५–१५ तथा गौतम केसीले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जवाफी ब्याटिङ गरेको वेष्टर्नले ८ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा सहजै ७९ रन बनाएर जित आफ्नो पोल्टामा पार्यो । उसका लागि प्रज्जवल थापाले अविजित ४७ र रन्जित खड्काले नटआउट २८ रन बनाए । बुद्धका विपिन शर्माले १ विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

