
बुटवल,२८ बैशाख। नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनमा सहभागी पत्रकारहरुले मिडियाको विश्वसनीयता जोगाउन पत्रकारिता अझ जिम्मेवार, तथ्यपरक र खोजमूलक हुनुपर्ने बताएका छन्।
उनीहरुले सत्ता र शक्तिमाथि निरन्तर प्रश्न उठाउन सके मात्र पाठक, दर्शक र श्रोताको विश्वास कायम रहने धारणा राखेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?’ विषयक छलफलमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले पछिल्लो समय मिडियाको विश्वसनीयता र आधारमाथि प्रश्न उठेको बताए । उनले सबै सूचना समाचार नहुने उल्लेख गर्दै अल्गोरिदमले सम्पादक र संवाददाताको मनोवैज्ञानिक शान्ति खोसेको टिप्पणी गरे । सस्तो र कमजोर सामग्रीले गुणस्तरीय पत्रकारिताको आवश्यकता पूरा गर्न नसक्ने भन्दै उनले पत्रकारले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड दिए । साथै कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा किशोर श्रेष्ठले पत्रकारिताको मूल धर्म सत्य र तथ्यमा आधारित हुनुपर्ने बताए। जोखिम मोलेर भए पनि सत्यलाई प्राथमिकता दिने आफ्नो अभ्यास सुनाउँदै निरन्तर आफ्नो काममा सक्रिय रहनुपर्नेमा पनि उनले जोड दिए ।
त्यसैगरी समाधान दैनिकका केशवशरण लामिछानेले गुणस्तरीय कन्टेन्ट र खोजमूलक समाचारले मिडियाको संकट कम गर्न सक्ने बताए ।
अनलाइनमा प्रकाशित समाचारलाई जस्ताको तस्तै पत्रिकामा छाप्दा पाठक नबढ्ने उल्लेख गर्दै उनले निजी सञ्चारमाध्यम विशेषगरी पत्रिका क्षेत्र सरकारी विज्ञापन नीतिका कारण प्रभावित भएको बताए । साथै पाठक आकर्षित गर्ने सामग्री दिन नसकिएको हो कि भन्ने प्रश्न पनि उठेको उनको भनाइ थियो ।

