


भैरहवा । भैरहवाको साई ग्लोबल एकेडेमीले पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित भइसकेका पूर्व विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका अध्यक्ष दिनेश मान अमात्यले संस्थाको थप विकास र गुणस्तरीय शिक्षाका लागि पूर्वविद्यार्थीहरुको रचनात्मक सुझाव आवश्यक रहेको बताए। उनले साई ग्लोबलको स्थापना र विकास यात्राबारे चर्चा गर्दै पूर्वविद्यार्थीहरुको सक्रिय उपस्थितिले उत्साहित बनाएको उल्लेख गरे ।

विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले साई ग्लोबलबाट अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा सफल भएको बताउँदै संस्थाप्रतिको उनीहरुको लगाव नै विद्यालयको ठूलो उपलब्धि भएको धारणा राखे। उनले साई ग्लोबल अनुशासित र गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रुपमा स्थापित हुँदै गएको बताए ।
कार्यक्रम संयोजक कृष्ण प्रसाद बस्यालले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
पत्रकार तथा पूर्वविद्यार्थी एलिना आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्वविद्यार्थीहरु सरोज ठकुरी, रबिन्द्र गुप्ता, विपाशा बस्याल, सुरज कान्दु बनिया, आशिष श्रेष्ठ, नब्रास्का उपाध्याय लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।
यसैबीच विद्यालयसँग समन्वय र सहकार्य गर्दै संस्थाको विकासमा योगदान पुर्याउने उद्देश्यले पूर्वविद्यार्थी समिति गठन गरिएको छ। समितिको अध्यक्षमा एलिना आचार्य चयन हुनुभएको छ भने उपाध्यक्षमा सुरज कान्दु बनिया, सचिवमा रबिन्द्र गुप्ता, कोषाध्यक्षमा आशिक श्रेष्ठ तथा सदस्यहरुमा स्वेता काफ्ले, खुश्बु चौधरी, सरोज ठकुरी, सुमित पौडेल, सोनु कुर्मी, विपासा बस्याल, नब्रास्का उपाध्याय रहेका छन् ।
त्यस्तै समितिको सल्लाहकारमा दिनेश मान अमात्य, मोती प्रसाद पौडेल, लक्ष्मण ज्ञवाली, पार्थिवेन्द्र उपाध्याय र कृष्णप्रसाद बस्याल रहेका छन् ।

