


भैरहवा। भैरहवास्थित साई ग्लोबल एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४ जीपीए ल्याएका दुई जनासहित अन्यविद्यार्थीहरुलाई पनि सम्मान गरेको छ।
विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीहरुमा प्रशान्त पाण्डे र शिवांश मिश्रा रहेका छन्। यस वर्ष विद्यालयबाट ६७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए।

उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई विद्यालयले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी सम्मान गरेको थियो । ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले एसईई उत्तीर्ण विद्यार्थीहरु भविष्यमा देशका महत्वपूर्ण स्थानमा पुग्ने विश्वास व्यक्त गर्दै विद्यालयलाई आगामी दिनमा पनि उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरे।
साई ग्लोबल एकेडेमी सञ्चालक समितिका अध्यक्ष दिनेशमान अमात्यले नतिजा मात्रै सबै कुरा नभए पनि यसले महत्वपूर्ण अर्थ राख्ने बताउँदै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गरे।
विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त मेहनतका कारण विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए।
४ जीपीए प्राप्त गर्ने विद्यार्थीका अभिभावक प्रदीप कुमार पाण्डे र सुरेन्द्र प्रसाद मिश्रले विद्यार्थीहरुलाई निरन्तर मेहनतका साथ अध्ययन गर्न आग्रह गर्दै शिक्षक तथा व्यवस्थापन टोलीको अथक प्रयासकै कारण विद्यालयले उत्कृष्ट सफलता हासिल गरेको बताए। कार्यक्रममा शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो ।

