


भैरहवा,१ जेठ। भैरहवास्थित काशी नोबल एकेडेमीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कोरियन भाषा विषयको पठनपाठन सुरु गर्ने भएको छ। विद्यालयले नेपालकै विद्यालय तहको पाठ्यक्रममा पहिलो पटक कोरियन भाषालाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको जनाएको छ।
शुक्रबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य राजेन्द्रप्रसाद घिमिरेले एकेडेमीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कोरियन भाषा संचालन हुने जानकारी दिए । उनले नेपाली विद्यार्थीहरुले कोरियामा अध्ययन तथा रोजगारीमार्फत हासिल गरेको प्राविधिक र आर्थिक प्रगतिलाई ध्यानमा राखेर कोरियन भाषा अध्यापन संचालन गरिएको बताए।

‘हाम्रो लक्ष्य केवल भाषा शिक्षणमा सीमित छैन’,उनले भने, ‘विद्यार्थीहरूले कोरिया गएर हासिल गरेको प्राविधिक ज्ञान र सीप स्वदेश फर्किएपछि यही दक्ष जनशक्ति निर्माणमा उपयोग गर्न सकून् भन्ने हाम्रो चाहना हो।’
विद्यालयका सहप्राचार्य श्रीबहादुर रायमाझीका अनुसार दक्षिण कोरियामा न्यून जन्मदरका कारण दक्ष जनशक्तिको माग उच्च छ। त्यहाँ विदेशी विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्तिमार्फत आकर्षित गर्ने गरिएको उल्लेख गर्दै उनले नेपाली विद्यार्थीहरुका लागि पनि यो अवसर महत्वपूर्ण हुन सक्ने बताए।
उनले दक्षिण कोरिया विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरुको केन्द्र भएकाले नेपाली विद्यार्थीहरुका लागि अध्ययन र रोजगारीका पर्याप्त सम्भावना रहेको बताए।
उनले युरोप तथा अमेरिकामा अध्ययनका लागि जाने धेरै विद्यार्थी उतै स्थायी बसोबासतर्फ आकर्षित हुने गरेको उल्लेख गर्दै कोरियामा भने निश्चित अवधिपछि स्वदेश फर्किनुपर्ने व्यवस्था भएकाले त्यहाँ सिकेको सीप, प्रविधि र अनुभव अन्ततः नेपालको विकासमा उपयोग हुन सक्ने धारणा व्यक्त गरे।
विद्यालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरेर एसईई परिक्षामा सहभागी भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ।

