
भारत (गोरखपुर) ,१७ जेठ। हिन्दी पत्रकारिताको २०० वर्ष पूरा भएको अवसरमा भारतको गोरखपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल र भारतका सञ्चारकर्मीहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
मान्यता प्राप्त प्रेस क्लब, गोरखपुर र गोरखपुर जर्नालिस्ट प्रेस क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकारिताको बदलिँदो स्वरुप, खोज पत्रकारिता, सीमापार सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई सञ्चार माध्यममार्फत थप सुदृढ बनाउने विषयमा व्यापक छलफल भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रममा वरिष्ठ पत्रकार तथा आजतक टेलिभिजनका प्रतिनिधि गजेन्द्र त्रिपाठीले नेपाल र भारतबीच रहेका साझा समस्या, सामाजिक सरोकार र जनचासोका विषयमा दुवै देशका सञ्चारमाध्यमले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औंल्याए। पत्रकारिताले दुई देशका नागरिकबीच विश्वास, समझदारी र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
त्यस्तै दैनिक जागरणका पूर्वसम्पादक कमलेश त्रिपाठीले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई पत्रकारितामार्फत थप सशक्त बनाउनुपर्ने बताए। उनले खोज पत्रकारिताका क्षेत्रमा संयुक्त रुपमा काम गर्न सके सीमापार मुद्दाहरुको प्रभावकारी रुपमा उजागर गर्न सकिने धारणा व्यक्त गरे।
प्रेस ट्रस्ट ऑफ इंडियाका वरिष्ठ पत्रकार आनन्द रायले हिन्दी पत्रकारिताको दुई सय वर्षे यात्राले समाजमा चेतना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्व प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रीय सहारा पूर्व सम्पादक अनिल पाण्डेले पत्रकारिताको विश्वसनीयता, तथ्यमा आधारित समाचार सम्प्रेषण तथा बदलिँदो सञ्चार परिवेशमा व्यावसायिक पत्रकारिताको महत्वबारे धारणा राखे। उनले पत्रकारिताले समाजलाई सही दिशा दिनुपर्ने जिम्मेवारी वहन गरेको बताउनुभयो ।
नेपालका तर्फबाट लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पत्रकारिताले पुलको भूमिका निर्वाह गर्न सक्ने बताए। उनले सीमा क्षेत्रका साझा सवाल, पर्यटन, संस्कृति, व्यापार तथा जनस्तरका सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशका पत्रकारबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
उनले नेपाल र भारतका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान, संयुक्त अध्ययन तथा खोजमूलक पत्रकारिताका कार्यक्रम सञ्चालन गरी पत्रकारितालाई थप सशक्त बनाउने दिशामा लुम्बिनी प्रेस क्लबले सहकार्य गर्न तयार रहेको बताए।
हिन्दी पत्रकारिता र पत्रिकाहरुको यात्रा ३० मे १८२६ मा कलकत्ता (हालको कोलकाता) बाट पण्डित जुगल किशोर शुक्लले प्रकाशन गरेको पहिलो हिन्दी समाचारपत्र ‘उदन्त मार्तण्ड’ बाट सुरु भएको हो।

