


काठमाडौं,२४ जेठ। पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउन साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको निर्णयअनुसार नयाँ व्यवस्था लागू गर्न लागिएको हो।

यसअन्तर्गत नयाँ डिम्याट खाता खोल्ने तथा विद्यमान खाताको केवाईसी विवरण अद्यावधिक गर्ने लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ।
सिडिएसले लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्न, दोहोरो विवरण नियन्त्रण गर्न तथा पूँजीबजारमा पारदर्शिता र नियामकीय निगरानी सुदृढ बनाउन यो व्यवस्था लागू गरिएको जनाएको छ।

