


काठमाडौं,२४ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको सीमा समस्याको समाधान कूटनीतिक माध्यम र विद्यमान द्विपक्षीय संयन्त्रमार्फत खोजिने बताएका छन्।
तीनदिने भारत भ्रमणपछि स्वदेश फर्किएका मन्त्री खनालले सीमा विवाद समाधानका लागि नेपालले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेजका आधारमा समाधान गर्ने नेपालको स्पष्ट अडान रहेको बताए।

उनले नेपाल र भारतबीच सीमा समस्यालाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा धारणा रहेको उल्लेख गर्दै आवश्यक परे विद्यमान संयन्त्रसँगै अन्य उपयुक्त संयन्त्रलाई पनि परिचालन गर्ने विषयमा भारतसँग छलफल भएको बताए।
मन्त्री खनालले नेपाल-भारतबीच हुने हरेक औपचारिक छलफलमा सीमा समस्याको विषयलाई निरन्तर उठाउने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रधानमन्त्रीको हालैको अभिव्यक्तिबारे उठेका टिप्पणीप्रति स्पष्ट पार्दै उनले नेपालले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्षको मध्यस्थता खोज्ने नीति नलिएको बताए। प्रधानमन्त्रीले पनि सीमा सम्बन्धी तथ्य र प्रमाणलाई आधार बनाएर छलफल गर्नुपर्ने विषय नै उठाएको उनको भनाइ थियो।

