


काठमाडौं,२४ जेठ। थाइल्यान्डस्थित नेपाली राजदूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा अवैध रुपमा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ।
दूतावासले आइतबार जारी गरेको सूचनामा अवैध रुपमा बसेका नेपालीहरुको नाम सार्वजनिक गर्दै जुन १२ तारिखभित्र स्वदेश फर्कन निर्देशन दिएको हो।

दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका ६०२ जना नेपाली नागरिकको भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेको अवस्थामा कम्बोडिया सरकारसँग समन्वय गरी भिसा शुल्क तथा जरिवाना मिनाहा गराउँदै स्वदेश फिर्तीको सहजीकरण गरिएको थियो।
तर इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि ६६ जना नेपाली नागरिकले नेपाल फर्किन तदारुकता नदेखाएको दूतावासले जनाएको छ।
दूतावासले तोकिएको समयमै स्वदेश नफर्कने विदेशी नागरिकमाथि कम्बोडिया सरकारले नयाँ कानुनअनुसार अनुसन्धान गरी कसुरको प्रकृतिअनुसार ५ लाख अमेरिकी डलरसम्म जरिवाना तथा आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था रहेको जानकारीसमेत दिएको छ।


