


काठमाडौं,२५ जेठ। विपक्षी दलहरुले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ नदिएसम्म प्रतिनिधि सभाको बैठक अवरोध जारी रहने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएसम्म संसद गतिविधि अगाडि बढ्न नसक्ने बताए।

उनले गम्भीर विषयमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रघाती अभिव्यक्ति दिएकाले संसदका गतिविधि अगाडि बढ्न नसक्ने बैठकमा जानकारी गराएको बताए।
यस्तै बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो हालैको भारत भ्रमणबारे जानकारी गराउनुका साथै समसामयिक राजनीतिक विषय र संसद्मा देखिएको गतिरोधबारे छलफल भएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। आवश्यक परे आफूले पनि सदनमा सम्बोधन गर्ने जानकारी उनले बैठकमा दिएका छन्।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति र प्रतिनिधि सभा नियमावली पारितको विषयलाई लिएर संसद् अवरुद्ध हुँदै आएको छ। विपक्षी दलहरुले प्रधानमन्त्री स्वयं उपस्थित भएर तथ्यसहित जवाफ दिनुपर्ने र आधारहीन अभिव्यक्ति दिएको भए माफी माग्नुपर्ने अडान कायम राखेका छन्।

