


काठमाडौं,२६ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक खुश्बु ओलीले विद्युतीय गाडी आयातमा भएको भनिएको कर छली प्रकरणमा अर्थमन्त्री डा. वाग्लेको नाम जोडिएकाले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने माग गरिन्।

उनले भनिन्,‘बीवाइडीको कर छली प्रकरणबारे दलहरुले विषय उठाउनु भएको छ। आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्मा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य भइसकेको छ। छानबिन सम्पन्न नहुँदा आफ्नै विवेक प्रयोग गरेर नैतिकताको दृष्टिकोणले जिम्मेवारीबाट पर रहनुपर्ने हुन्छ।’
यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको छानबिन समितिबारे जानकारी गराएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले असहमति जनाउँदै संसद् बैठक बहिष्कार गरेका थिए। सो क्रममा रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले आफ्ना मान्छेलाई जोगाउन सरकारले आफ्नै पक्षका व्यक्तिहरुलाई राखेर छानबिन समिति बनाएको आरोप लगाएका थिए।
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिएको अवस्थामा गृहमन्त्रीकै प्रस्तावमा छानबिन समिति गठन गर्नु उचित नहुने बताएका थिए। सोही प्रसंग उल्लेख गर्दै ओलीले अर्थमन्त्रीले गठन गर्ने समितिले पनि ‘सुनपानी छर्कने’ काम मात्र गर्ने भएकाले त्यस्तो समिति स्वीकार्य नहुने बताइन्।

