


काठमाडौं,२८ जेठ। गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्वासीहरु राखिएको होल्डिङ सेन्टरको आकस्मिक अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले सुकुम्वासी परिवारसँग भेटघाट गर्दै विगतमा व्यवस्थापनका क्रममा भएका कमजोरीप्रति माफी मागेका छन्।

उनले सरकार सुकुम्वासीहरुको उचित व्यवस्थापनप्रति गम्भीर रहेको बताउँदै कुनै पनि हालतमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे। सुकुम्वासी परिवारले बालबालिकाको शिक्षादीक्षा र स्वास्थ्य सेवामा समस्या रहेको गुनासो गरेका थिए।
पीडितहरुको गुनासो सुनेपछि गृहमन्त्रीले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिएका छन्। साथै, स्वास्थ्य समस्या वा आकस्मिक अवस्था आएमा तत्काल उद्धार गरी अस्पताल पुर्याउने व्यवस्था मिलाउन निर्देशन दिए।
गृहमन्त्री स्वयं भेट्न आएपछि होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी परिवारमा नयाँ आशा जागेको छ। उनीहरुले आफ्नो जग्गा तथा स्थायी बसोबासको व्यवस्था हुने अपेक्षा गरेका छन्।

