


काठमाडौं, २९ जेठ । पछिल्ला दिनहरुमा नेपाल सरकारले भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध लगाएको भन्ने समाचार र सामाजिक सञ्जालमा फैलिएको दाबी गलत भएको सरकारले स्पष्ट पारेको छ।
विशेष गरी भारतीय संचारमाध्यम र सामाजिक संजालमा भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध लगाएको भन्दै अफवाह फैलाइएको पाइएको छ।

कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार, भारतबाट आयात हुने आँपमा प्रतिबन्ध लगाइएको नभई नेपाली कृषि उत्पादनलाई हानिकारक रोग तथा किराबाट जोगाउन अन्तर्राष्ट्रिय कानुन र नेपालको ‘बिरुवा संरक्षण ऐन २०६४’ बमोजिम आयातमा कडा सर्त लागू गरिएको हो।
केन्द्रले बुधबार एक सूचना जारी गर्दै भारतबाट आँप आयातमा पूर्ण प्रतिबन्ध नलगाएको स्पष्ट पारको छ।
‘सरकारले भारतबाट आयात हुने आँपमा प्रतिबन्ध लगाएको भन्ने विषय अफवाह मात्र हो’, केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले भने, ‘हामीले जैविक सुरक्षाका लागि चालेको कदम हो । आँप आयातमा सर्तसहित अनुमति कायम छ, पूर्णप्रतिबन्ध होइन।’
अब भारतबाट आयात हुने आँपमा ‘हट वाटर ट्रिटमेन्ट’ (तातो पानीको उपचार) गरिएको र हानिकारक शत्रुजीव नरहेको प्रमाणपत्र अनिवार्य गरिएको छ। यी सर्त पूरा गरेपछि मात्र आँप नेपाल भित्र्याउन पाइनेछ।
भारतबाट आयात हुने आँपमार्फत नेपाली कृषि उत्पादनलाई क्षति पुर्याउन सक्ने विभिन्न रोग र किराको जोखिम देखिएपछि सरकारले जैविक सुरक्षा सुदृढ गर्न आयातमा कडाइ गरेको जनाएको छ। यस्ता शत्रुजीव नेपाल भित्रिए स्वदेशी आँप खेतीमा गम्भीर असर पर्न सक्ने बताइएको छ।
सर्त लागू भएपछि भारतबाट आउने आँपको परिमाण घटेको भए पनि सर्त पूरा गरेका आँपको आयात जारी रहेको केन्द्रले जनाएको छ। सरकारले यो कदम विषादीका कारण नभई जैविक सुरक्षा तथा स्वदेशी आँप खेतीको संरक्षणका लागि चालिएको स्पष्ट गरेको छ।
यस कडाइले नेपाली आँप उत्पादक किसानलाई बजार पाउन सहज हुने विश्वास सरकारले व्यक्त गरेको छ।

