


सप्तरी,२२ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, भ्याक्सिनेटरहरुबाट सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन मागेको उजुरीका आधारमा चालक यादवले ३३ हजार ३५० रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

त्यसक्रममा ४८ हजार ७० रुपैयाँ श्रोत नखुलेको रकम, भिन्न भिन्न रकम उल्लेख गरिएको १ लाख २९ हजार बराबरको चार थान चेक र एक थान मोबाइल पनि बरामद भएको छ।
निमित्त कार्यालय प्रमुख डा. दासको साथबाट १ लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेक र एक थान मोबाइल पनि बरामद भएको सहायक प्रवक्ता अधिकारीले जनाए ।
दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

