


काठमाडौं,२३ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।
गत असार १ देखि ९ गते सम्म भएको पूरक परीक्षामा सहभागी परीक्षार्थीमध्ये ६४.६८ प्रतिशत उतिर्ण भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। उक्त परीक्षामा १ लाख २९ हजार १ सय १४ जना सामेल थिए। जसमा, ८३ हजार ५ सय २३ जना वर्गीकृत हुन सफल भएका छन्।

पूरकको नतिजासँगै एसईई उतीर्ण गर्ने विद्यार्थी ८५.३७ प्रतिशत पुगेका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी रहेका थिए । मूल परीक्षामा ननग्रेडेड रहेका र ग्रेड वृद्धिका लागि योग्य रहेका १७ हजार ३ सय ९३ विद्यार्थी भने पूरक परीक्षामा सहभागी नै भएनन् ।
प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीले उत्तरपुस्तिका हेर्न तथा पुनः परीक्षण गराउन समेत सक्ने व्यवस्था मिलाइएको छ। जसका लागि असार २५ गतेदेखि असार ३१ गतेसम्म निवेदन दिनुपर्ने परीक्षा नियन्त्रक अधिकारीले जनाए।
निवेदन अनलाइनबाट दिने ब्यवस्था गरिएको छ। बिस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाईट www.see.gov.np मा हेर्न सकिने बताइएको छ।

