


काठमाडौं,२६ असार। काठमाडौंस्थित राहदानी विभाग अगाडीमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली मृत्यु भएको छ।
उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ। यद्यपि, समाचार तयार पार्दासम्म वीर अस्पतालले उनको निधनबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालको बर्न विभागमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका थिए।
उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरिएको थियो। तर, स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकाले स्थानान्तरण गर्दा थप जोखिम हुन सक्ने चिकित्सकहरुको सुझावपछि वीर अस्पतालमै उपचारलाई निरन्तरता दिइएको थियो।
नेपालीलाई बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनी राइडरको काम गर्दै आएका थिए र आर्थिक अवस्था कमजोर भएकाले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको बताइएको छ।
घटनापछि वीर अस्पतालले पत्रकार सम्मेलन गर्दै उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको जानकारी दिएको थियो। यसैबीच, गृहमन्त्री सुधन गुरुङ्गले गए राति वीर अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्यायको माग गर्दै माइतीघर मण्डलामा मुगुबासीसहित विभिन्न सर्वसाधारणले प्रदर्शनसमेत गरेका छन्।

