


भैरहवा,९ साउन। रुपन्देही प्रहरीले आफुलाई घुमुवा प्रहरी भन्दै पैसा मागेको आरोपमा नक्कली रिभल्भरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई हाल ओमसतिया गाउँपालिका-४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, पक्राउ परेका राणाले भैरहवा बजारमा आफु जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ भन्दै पेस्तोल देखाएर दश हजार रुपैयाँ पैसा मागिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
भैरहवाको शान्तिनगरबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा कोठामा राखेको एक थान नक्कली रिभल्भर, सवारी चालक अनुमतिपत्र एक थान, लागुऔषध गाँजा ५०० ग्राम, मोबाइल एक थान तथा नेपाली नगद दुई हजार ६ सय रुपैयाँ बरामद भएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

