


भैरहवा,२५ भदौ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोका पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँच जना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

यसअघि गत वैशाखमा पनि लुम्बिनी प्रदेशका डीआईजीको विशेष टोलीले यही क्यासिनोमा छापा मारेको थियो। त्यस क्रममा जुवा खेलिरहेको आरोपमा १५ जना नेपाली नागरिक तथा जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका चार जना कर्मचारीसहित १९ जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार, जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएकाहरुमा म्याग्दीको बेनी नगरपालिका–७, बेनी बजारका ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन के.सी.,पोखरा महानगरपालिका–१७ बिरौटाका ३९ वर्षीय सुदिप आचार्य, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ नेपालगञ्ज रोडका ४६ वर्षीय रामु श्रेष्ठ, बुटवल उपमहानगरपालिका–३, सिमानगरका ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ र क्यासिनोका पिट म्यानेजर भारतका २५ वर्षीय पारस भाटिया रहेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देही पठाइएको र घटनासम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

