


काठमाडौं,१४ साउन। सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रुपमा खारेज गरेको छ।
नेपाल राजपत्रमा आज सूचना प्रकाशित गर्दै सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गरेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार, आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क तथा दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा पूर्ण छुट दिइएको छ।
यससँगै हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्कका रुपमा असुल गरिएको रकम सम्बन्धित निकाय वा व्यक्तिले भुक्तानीकर्तालाई १५ दिनभित्र अनिवार्य रुपमा फिर्ता गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र रकम फिर्ता गर्न सम्भव नभएमा उक्त रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले यो निर्णय मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुने जनाएको छ।

