


मर्चवार । रुपन्देहीका दुई सामाजिक संस्थाले संयुक्त रुपमा मर्चवारमा वृक्षारोपण गरेका छन् । मर्चवार प्रेस क्लब रुपन्देही र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा कोटहीमाई गाउँपालिका–५ स्थित दुईमुहान पुल नजिक फलफूल तथा विभिन्न प्रजातिका ५१ वटा बिरुवा रोपिएको हो ।
मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताका अनुसार, आवाजविहीनको आवाज बन्ने जिम्मेवारीसँगै वातावरण संरक्षणमा पनि योगदान पु¥याउने उद्देश्यले साउन १५ गते आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायण प्रसाद कोइरालाले स्वच्छ वातावरण निर्माण, हरियाली प्रवद्र्धन तथा चराचुरुङ्गीका लागि खाद्य स्रोत वृद्धि गर्ने उद्देश्यले क्लबले साउन महिनाभर विभिन्न स्थानमा वृक्षारोपण अभियान चलाएको बताए।
उनका अनुसार, क्लबका निवर्तमान अध्यक्ष राजन शुक्ल तथा सन् २०२६–२०२७ का पब्लिक रिलेसन्स अफिसर हृदयराम गुप्ताको जन्मदिनको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम इलाका प्रहरी कार्यालय मझगावाँ र सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) मझगावाँको सहकार्यमा सम्पन्न भएको थियो । अध्यक्ष कोइरालाले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा कोटहीमाई गाउँपालिका–५ का वडाध्यक्ष संजयकुमार सैनीले वृक्षारोपणप्रति धन्यवाद व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षणका लागि वडा कार्यालय पूर्ण रुपमा प्रतिबद्ध रहने बताए। उनले भने,‘विरुवा मानव जीवन, वातावरण तथा सम्पूर्ण जीवजन्तुको अस्तित्वसँग प्रत्यक्ष रूपमा जोडिएको छ । त्यसैले रोपिएको प्रत्येक बिरुवाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’
वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक तपेन्द्र बिष्ट, सशस्त्र प्रहरी बल मझगावाँका प्रमुख प्रहरी निरीक्षक विकास थापा, लायन्स क्लब अफ भैरहवा लिगेसीका निवर्तमान अध्यक्ष राजन शुक्ल, संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, मर्चवार प्रेस क्लबका सचिव असलम खान, कोषाध्यक्ष जैस मोहम्मद खान तथा सदस्यहरु धनञ्जय उपाध्याय र शिवदास गुप्ता लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाहमा सम्बन्धित निकाय तथा स्थानीय समुदायले सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

