


काठमाडौं,१७ साउन। थाइल्याण्डबाट लागुऔषध गाँजा लिएर नेपाल पुगेका तीन जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको पञ्जाबको लुधियानाका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा भारतको हरियाणाको करनालका २२ वर्षीय साहिल रहेका छन्।

थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
क्याथे प्यासिफिक एयरवेज मार्फत नेपाल आएका दुई भारतीय नागरिकलाई झोलाभित्र लुकाएर ल्याएको एघार किलो गाँजासहित पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जनाए।
साथै, उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ गरिएको उनले बताए। पक्राउ परेका तीनैजनामाथि आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

