


मर्चवार। रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ का युवा समाजसेवी रामजीत लोधले सामाजिक सेवाको निरन्तरतासँगै धार्मिक क्षेत्रमा समेत योगदान पुर्याएका छन्। उनले गाउँपालिका–७, चुन्नीडिहवास्थित शिव मन्दिरमा जीर्ण तथा खण्डित अवस्थामा रहेको शिवलिङ विसर्जन गरी नयाँ शिवलिङ स्थापना गराएका छन्।
यसअघि लोधले शुद्धोधन गाउँपालिकाको वडा नं. ६ र ७ मा रहेका तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत ९ सय जना विद्यार्थी तथा शिक्षकलाई सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत लगानीमा विद्यालय पोसाक उपलब्ध गराएका थिए।

विद्यालय क्षेत्रमा सहयोगपछि उनले चुन्नीडिहवास्थित शिव मन्दिरमा पुरानो शिवलिङ जीर्ण भएपछि नयाँ शिवलिङ स्थापना गर्ने पहल गरेका हुन्।
शिवलिङ स्थापनाअघि तीनदिने धार्मिक अनुष्ठान आयोजना गरिएको थियो। भारतबाट ल्याइएको शिवलिङलाई पर्रोहा परमेश्वर मन्दिरसहित पाँच वटा शिव मन्दिरको परिक्रमा गराई विशेष पूजा–आराधना पश्चात विधिपूर्वक प्रतिष्ठा गरिएको समाजसेवी रामजीत लोधले जानकारी दिए।
उनले सामाजिक उत्तरदायित्वअन्तर्गत समाज र धार्मिक क्षेत्रप्रतिको दायित्व पूरा गर्ने उद्देश्यले भगवान शिवप्रतिको आस्था र श्रद्धाका साथ आफ्नो कमाइको केही अंश धार्मिक सेवामा समर्पण गरेको बताए।
‘भगवानले दिएको कमाइबाट केही रकम शिवको सेवामा अर्पण गरेको हुँ। यस मन्दिर मात्र होइन, आफ्नो क्षेत्रका विभिन्न धार्मिक स्थलहरुमा पनि सकेसम्म सहयोग गर्दै आएको छु’,उनले भने,‘मन्दिरसँगै विद्यालय, सडक, अस्पताल तथा समाजलाई आवश्यक पर्ने अन्य क्षेत्रमा पनि निरन्तर सहयोग गरिरहेको छु।’
स्थानीयवासीका अनुसार, उक्त मन्दिर धार्मिक आस्था, सामाजिक सद्भाव र एकताको केन्द्रका रुपमा परिचित छ। शुद्धोधन–७, गोगौलीका नन्दलाल यादवले शिवलिङ स्थापना कार्यमा समाजसेवी रामजीत लोधको विशेष योगदान रहेको उल्लेख गर्दै धार्मिक अनुष्ठान सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
परिक्रमा कार्यक्रममा सहभागी बासुदेव लोधले धार्मिक आस्था र सामाजिक एकताले नै यो कार्य सम्भव भएको बताए । उनका अनुसार समाजसेवी रामजीत लोधको समन्वय, स्थानीयवासीको सहयोग र भगवान शिवको कृपाले मन्दिरको व्यवस्थापन सुधार गर्दै नयाँ शिवलिङ स्थापना गर्न सफलता मिलेको हो ।
भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरबाट आउनुभएका प्रतिष्ठाचार्य (आचार्य) ले पुरानो शिवलिङ खण्डित भएकाले शास्त्रीय विधिअनुसार विसर्जन गरी नयाँ शिवलिङ स्थापना गरिएको बताए।
उनका अनुसार प्राण प्रतिष्ठाअघि नयाँ शिवलिङलाई विभिन्न पवित्र शिव मन्दिरका शिवलिङसँग वैदिक विधिअनुसार परिक्रमा तथा धार्मिक संस्कार सम्पन्न गराएर मात्र प्रतिष्ठा गरिएको हो ।
स्थानीय जैसराम यादवले स्थानीय सरकारले गर्नुपर्ने केही सामाजिक तथा धार्मिक कार्य समाजसेवीहरुले गरिरहेको टिप्पणी गरे। उनले जनप्रतिनिधिहरु अपेक्षाअनुसार सक्रिय नदेखिएको गुनासो गर्दै समाज र धर्मका लागि निरन्तर योगदान पुर्याउँदै आएका समाजसेवी लोधप्रति आभार व्यक्त गरे।

