


हृदयराम गुप्ता
मर्चवार,२९ साउन। रुपन्देहीको मर्चवारमा कबड्डी प्रतियोगिता सुरु भएको छ। स्थानीय युवाहरुको संयुक्त आयोजनामा शुक्रबारदेखि कबड्डी प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले पुरानो तथा मौलिक खेल कबड्डीको प्रवर्द्धनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले मर्चवारमा पहिलोपटक कबड्डी प्रतियोगिता आयोजना हुनु खेलकुदको विकासका लागि सकारात्मक सुरुवात भएको उल्लेख गरे।
‘मर्चवारमा पहिलोपटक कबड्डी प्रतियोगिता आयोजना हुनु खेलकुद प्रवद्र्धनका लागि नयाँ सुरुवात हो । युवाहरुले नयाँ सोच र उत्साहका साथ खेलकुदको विकासमा सकारात्मक सन्देश दिएका छन्,’ उनले भने।
सांसद बनियाले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै देशको सम्मान र गौरव बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सरकारले कुरा मात्र नभई कामलाई प्राथमिकता दिँदै अघि बढिरहेको समेत उल्लेख गरे।
प्रतियोगितामा विभिन्न क्षेत्रबाट १४ समूह सहभागी रहेको प्रतियोगिता संयोजक रामजस पालले जानकारी दिए। उनका अनुसार पहिलो दिन १० समूहबीच प्रतिस्पर्धा भएको थियो।
उनका अनुसार, प्रतियोगितामा प्रथम हुने समूहले १० हजार रुपैयाँ, द्वितीय हुनेले ६ हजार रुपैयाँ र तृतीय हुने समूहले ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

