


हृदयराम गुप्ता
मर्चवार, १ भदौ। सुख्खा मौसम सुरु भएसँगै रुपन्देहीको मर्चवार क्षेत्रका सडकमा धुलो उड्छ।खाल्डाखुल्डी छल्दै अघि बढ्ने सवारीसाधनका पाङ्ग्रा वर्षायाम लागेपछि भने त्यही सडकमा जमेको हिलो र पानीमा फस्न थाल्छन्। सडकको यही दुर्दशाबीच वर्षौँदेखि बजेट छुट्याइँदै आएको छ, योजना बन्छन्, आश्वासन दोहोरिन्छन्।
तर, सडकको अवस्था भने उस्तै छ। दैनिक यही बाटो भएर यात्रा गर्ने नागरिकको गन्तव्य फरक–फरक भए पनि उनीहरुको प्रश्न एउटै छ-वर्षौँदेखि सडक सुधारका नाममा बजेट खर्च भइरहँदा पनि मर्चवारका सडक किन सुध्रिएनन् ?

भंगहियादेखि बेतकुइयाँ, थुम्हवा, करौता, सेमरा, अमवा, बगौली हुँदै तुनिहवासम्म फैलिएको करिब ३३ किलोमिटर लामो यो सडक मर्चवारका तीन स्थानीय तहका १५ वडालाई आपसमा जोड्छ। यस सडकको अवस्था बिग्रँदा त्यसको असर यात्रामा मात्रै सीमित छैन। खेतमा उत्पादन भएको उपज बजारसम्म पुर्याउने किसानदेखि विद्यालय पुग्ने विद्यार्थी, उपचारका लागि स्वास्थ्य संस्था धाउने बिरामी र सदरमुकाम तथा बजारसम्म पुग्ने सर्वसाधारणसम्म सबै यही सडकमा निर्भर छन्। त्यसैले यो सडक मर्चवारका लागि केवल आवागमनको माध्यम होइन, यहाँको आर्थिक गतिविधि र दैनिक जनजीवनसँग जोडिएको महत्वपूर्ण आधार हो।
तर, अहिले यही सडक स्थानीयवासीका लागि सहज आवागमनको माध्यमभन्दा जोखिमपूर्ण यात्राको बाटो बनेको छ। सडकका अधिकांश खण्डमा कालोपत्रे उक्किएर गहिरा खाल्डाखुल्डी बनेका छन् भने कतिपय ठाउँमा सडकको सतह ग्राभेलजस्तै देखिन्छ। वर्षायाममा ती खाल्डामा पानी जम्दा सडकको वास्तविक गहिराइसमेत छुट्याउन नसकिने अवस्था हुन्छ। हिउँद र सुख्खायाममा भने सडकभरि धुलो उड्छ। यसले विशेषगरी साइकल र मोटरसाइकल चालकलाई दुर्घटनाको जोखिम बढाएको छ भने चारपांग्रे सवारीसाधनको सञ्चालन तथा मर्मत खर्चसमेत बढेको स्थानीयको गुनासो छ।
सडकको यो अवस्था पछिल्ला एक–दुई वर्षमा आएको होइन। कोटहीमाई गाउँपालिकाका स्थानीय रमेश गुप्ताका अनुसार, सडकको मुख्य खण्ड वि.सं. २०६६ देखि २०६८ सालको अवधिमा कालोपत्रे गरिएको थियो। कालोपत्रे भएको डेढ दशकभन्दा बढी समय बितिसक्दा पनि नियमित मर्मत, संरक्षण र स्तरोन्नति हुन नसक्दा सडक जीर्ण बन्दै गएको हो। अहिले त कतिपय खण्डको अवस्था सामान्य मर्मतले मात्रै नहुने, पुनःनिर्माण नै गर्नुपर्ने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।
मर्चवारको सडकबारे अहिले उठेको गम्भीर प्रश्न ‘सडक कहिले बन्छ ?’ भन्ने मात्र होइन, वर्षौँदेखि सडक निर्माण र मर्मतका नाममा भइरहेका खर्च तथा प्रयासले दिगो परिणाम किन दिन सकेनन् भन्ने पनि हो। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म सडक निर्माण तथा मर्मतका विभिन्न योजना सञ्चालन हुँदै आए पनि मर्चवारको मुख्य सडकको समग्र अवस्था भने अपेक्षाअनुसार सुधारिएको छैन।
कुनै खण्डमा मर्मत गरिन्छ, केही समयपछि अर्को खण्डमा खाल्डाखुल्डी बढ्छन्। फेरि अर्को वर्ष त्यही सडकको अर्को भागमा बजेट खर्च हुन्छ। यसरी टुक्रे ढंगले हुने मर्मत र निर्माणले सडकको दीर्घकालीन समस्या समाधान गर्न नसकेको स्थानीयको गुनासो छ। उनीहरुका अनुसार, वर्षेनी बजेट खर्च हुने तर सडकको अवस्था भने उस्तै रहने प्रवृत्तिले मर्चवारको सडकलाई स्थायी समाधानभन्दा अस्थायी मर्मतमै सीमित गरिरहेको छ।
कोटहीमाई–१ बोगदियाका सेसमन यादवका बुझाइमा मर्चवारको सडक समस्या बजेट अभावमा मात्र सीमित छैन। उनका अनुसार सडक सुधारका लागि आवश्यक योजनाबद्धता, निरन्तरता र समग्र दृष्टिकोणको अभावले भइरहेका प्रयास प्रभावहीन बनेका छन्। ‘कतै सडक राम्रो छ, कतै खाल्डाखुल्डीले भरिएको छ। एक ठाउँमा काम हुन्छ, अर्को ठाउँ बिग्रिसकेको हुन्छ’, उनले भने,‘टुक्राटुक्रामा गरिने कामले यति लामो सडकको दिगो समाधान हुँदैन।’
यादवका अनुसार संघीय र प्रदेश सरकारबाट बजेट आउने गरे पनि त्यसको स्थानीयस्तरमा हुने कार्यान्वयन, निर्माणको गुणस्तर र प्रभावकारी अनुगमनमा कमजोरी देखिन्छ। यही कारण सडकमा भइरहेको लगानीअनुसारको प्रतिफल देखिन नसकेको उनको भनाइ छ। उनका दृष्टिमा सडक सुधारका लागि छुट्टाछुट्टै खण्डमा बजेट खर्च गर्नुभन्दा समग्र सडकलाई एउटै योजनामा राखेर दीर्घकालीन समाधान खोज्न आवश्यक छ।
तीन तहका सरकार, जिम्मेवारी कसको ?
मर्चवारको सडक समस्याको अर्को जटिल पक्ष हो—जिम्मेवारीको अस्पष्टता। सडक निर्माण, स्तरोन्नति र मर्मतमा संघ, प्रदेश र स्थानीय तहका आ–आफ्नै भूमिका छन्। तर सडकको दुरवस्था भोग्ने स्थानीयवासीका लागि भने जिम्मेवार निकाय छुट्याउनु नै कठिन बनेको छ।
स्थानीय तह ठूलो सडक परियोजना सञ्चालन गर्न आफ्नो बजेट पर्याप्त नभएको बताउँछ। संघ र प्रदेशबाट योजना तथा बजेट आउने गरे पनि ती योजनामा निरन्तरता नहुँदा र समग्र सडक सुधारलाई प्राथमिकतामा नराखिँदा समस्या ज्यूँका त्यूँ रहेको स्थानीयको गुनासो छ।
मर्चवारीमाई गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईका अनुसार, करिब ३३ किलोमिटर मुख्य तथा रिङरोडलाई दीर्घकालीन रुपमा टिकाउ हुने गरी कालोपत्रे तथा स्तरोन्नति गर्न ठूलो बजेट आवश्यक पर्छ। ‘स्थानीय सरकारसँग सीमित बजेट हुन्छ’,उनी भन्छन्,‘शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतका क्षेत्रमा पनि खर्च गर्नुपर्ने भएकाले एकैपटक ठूलो लगानी गर्न सकिँदैन।’
उनका अनुसार, गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका जीर्ण सडकमा वर्षेनी खाल्डाखुल्डी पुर्ने र तत्कालीन मर्मत गर्दै आएको छ। तर यसले अर्को प्रश्न जन्माउँछ—यदि वर्षेनी एउटै सडकमा खाल्डा पुर्नुपर्ने अवस्था दोहोरिन्छ भने समस्या मर्मतको शैलीमा छ कि सडकको संरचनागत कमजोरीमै ?
मर्चवारीमाई–२ अमवाका राकेश चौधरीका अनुसार, सडक बिग्रन थालेकै चरणमा सामान्य मर्मत गरिएको भए अहिले व्यापक पुनःनिर्माणको आवश्यकता पर्ने थिएन। ‘कालोपत्रे उक्किएपछि बनेका खाल्डा समयमै पुरिएनन्। त्यसपछि वर्षाको पानी र सवारीसाधनको चापले खाल्डा झन् ठूलो हुँदै गए’, उनले भने।
चौधरीका अनुसार, सडकको क्षतिसँग पानी निकासको समस्या पनि जोडिएको छ। कतिपय ठाउँमा सडक किनारमा अतिक्रमण बढेको र वर्षाको पानी सहज रुपमा निकास हुन नसक्दा सडकको सतहमा पानी जम्ने गरेको छ। पानी जमिरहँदा सडकको सतह कमजोर हुँदै जाने र त्यसले कालोपत्रे छिट्टै बिगार्ने स्थानीयको अनुभव छ।
सडक विज्ञका दृष्टिमा पनि कालोपत्रे सडकको आयु केवल कालोपत्रे गर्ने काममा निर्भर हुँदैन। सडकको आधार तह, पानी निकास, भारवहन क्षमता, निर्माणको गुणस्तर, नियमित निरीक्षण र समयमै गरिने मर्मतले यसको टिकाउपन निर्धारण गर्छ। मर्चवारको सडकमा यी पक्षको दीर्घकालीन व्यवस्थापन कति प्रभावकारी भयो भन्ने प्रश्न भने अझै अनुत्तरित छ।
सडकको दुरवस्थाको प्रत्यक्ष असर दैनिक यात्रा गर्ने नागरिकमाथि परेको छ। वर्षायाममा पैदल तथा साइकलमा विद्यालय जाने विद्यार्थी हिलो र पानी छल्दै यात्रा गर्न बाध्य छन् भने सुख्खायाममा उड्ने धुलोले उनीहरुको यात्रा झन् असहज बनाउँछ।
श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत प्रभात केवटका लागि सडकको अवस्था दैनिक समस्याकै विषय बनेको छ। ‘गाडी गुड्दा हिलो र धुलो पोसाकमा पर्छ। कहिलेकाहीँ विद्यालय नपुग्दै फर्किनुपर्ने हुन्छ’,उनले भने,‘भवन मात्र राम्रो भएर हुँदैन, विद्यालय पुग्ने सडक पनि राम्रो हुनुपर्छ।’
सडकको प्रभाव कृषि उत्पादनमा पनि परेको स्थानीयको भनाइ छ। मर्चवारको ठूलो जनसंख्या कृषिमा निर्भर छ। खेतबाट उत्पादन बजारसम्म पुर्याउँदा सडक खराब भएकै कारण ढुवानीमा बढी समय लाग्ने र लागतसमेत बढ्ने गरेको किसानहरु बताउँछन्।
सम्मरीमाई गाउँपालिका–५ तरैनीका मोहन धवलका लागि सडकको अवस्था विकासका वाचासँग जोडिएको विषय हो। ‘चिल्लो गाडीमा बसेर आउने नेताहरूले गाउँबासीको पीडा कहिल्यै बुझेनन्। हाम्रा प्रतिनिधिबाट सडक बनाउने आश्वासन सधैँ सुनियो, तर पूरा भएन’ ,उनले भने।
उनका अनुसार, निर्वाचनका बेला सडक स्तरोन्नतिको प्रतिबद्धता सुनिए पनि निर्वाचित भएपछि त्यसलाई दीर्घकालीन परियोजनाका रुपमा अघि बढाउने काम पर्याप्त भएको छैन। त्यसैले मर्चवारको सडक समस्या अब एउटा जीर्ण पूर्वाधारको विषयमा मात्र सीमित छैन। यो सरकारी प्राथमिकता, सार्वजनिक लगानी र त्यसबाट प्राप्त हुने प्रतिफलको प्रश्नसमेत बनेको छ।
मर्चवारमा सडक मर्मतको परम्परागत शैलीमाथि पनि प्रश्न उठ्न थालेको छ। सडकको कुनै भाग बिग्रिएपछि खाल्डा पुर्ने, केही समयपछि फेरि बिग्रने र अर्को वर्ष पुनः त्यही प्रक्रिया दोहोरिने हो भने त्यसलाई नियमित मर्मत भन्न सकिएला, तर दीर्घकालीन सडक व्यवस्थापन भन्न नसकिने स्थानीयको तर्क छ।
स्थानीयवासीको माग स्पष्ट छ-अब खाल्डा पुर्ने योजना होइन, सडक बचाउने योजना चाहिन्छ। त्यसका लागि करिब ३३ किलोमिटर सडकको प्राविधिक अवस्थाको विस्तृत अध्ययन, भारवहन क्षमता परीक्षण, पानी निकासको समस्या पहिचान, आवश्यक चौडाइ निर्धारण, सडक किनार व्यवस्थापन तथा गुणस्तरीय आधार तह र कालोपत्रेको मापदण्ड निर्धारण आवश्यक देखिन्छ। साथै, नियमित मर्मतका लागि स्पष्ट कार्यतालिका र जिम्मेवार निकाय पनि तोकिनुपर्छ।
सडकको कुन खण्ड कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने स्पष्ट पार्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वित योजना बनाउनु पनि उत्तिकै आवश्यक छ।
स्थानीयहरुका अनुसार, मर्चवारको सडकको समस्या अब केवल जीर्ण पूर्वाधारको विषयमा सीमित छैन। सडक कमजोर हुँदा त्यसको असर अन्ततः स्थानीय अर्थतन्त्र र समग्र विकासमै देखिएको छ।
डेढ दशकअघि कालोपत्रे गरिएको सडक अहिले पुनःनिर्माणको बहसमा पुग्नुले विकास योजनाको दिगोपनमाथि गम्भीर प्रश्न उठाएको छ। सडकमा कति बजेट खर्च भयो भन्ने हिसाब मात्र पर्याप्त छैन ? त्यसबाट कस्तो प्रतिफल प्राप्त भयो र निर्माण गरिएको सडक किन टिक्न सकेन भन्ने विषयमा पनि सार्वजनिक मूल्यांकन आवश्यक रहेको स्थानीयहरु बताउँछन्। मर्चवारवासी अब अर्को निर्वाचनमा फेरि सडक बनाउने आश्वासनभन्दा विगतमा सडकका नाममा भएको लगानी कहाँ खर्च भयो र त्यसले दिगो परिणाम किन दिन सकेन भन्ने प्रश्नको जवाफ खोजिरहेका छन्।

