


हृदयराम गुप्ता
मर्चवार,३१ साउन। रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आन्तरिक विवादका कारण करिब एक महिना ढिलो गरी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ।

कानुनी व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र गाउँसभा गर्नुपर्ने भए पनि विवादका कारण ढिलो गरी १९औँ गाउँसभा सम्पन्न भएको हो।
गाउँसभामा अध्यक्ष बालकृष्ण त्रिपाठीले ‘स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, समृद्ध कोटहीमाईको मूल आधार’ भन्ने नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गरे। कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, सूचना प्रविधि र सुशासनलाई प्राथमिकता दिइएको छ।
कृषि उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग र विषादीको सुरक्षित प्रयोगमा जोड दिइने, बाँझो जग्गामा फलफूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने तथा खोरेत, भ्यागुते र लम्पी स्किन नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ।
वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सीप स्थानीयस्तरमा उपयोग गर्ने र बेरोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिलाउन रोजगार सेवा केन्द्रलाई प्रभावकारी बनाउने कार्यक्रम पनि समेटिएको छ।
शिक्षक तथा कर्मचारीको तलब–भत्ता वृद्धि, एआईसम्बन्धी तालिम, विद्यालयमा जङ्क फुड प्रतिबन्ध तथा स्थानीय उत्पादनमा आधारित साप्ताहिक मेनु लागू गर्ने नीति अघि सारिएको छ। स्वास्थ्यतर्फ तोकिएका समूहलाई निःशुल्क स्वास्थ्य बीमा, गर्भवती तथा सुत्केरीका लागि पोषण कार्यक्रम, निःशुल्क रगत तथा पाठेघरको मुखको क्यान्सर उपचारका लागि विशेष आर्थिक सहयोगको व्यवस्था गरिएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५६ करोड ६४ लाख ९३ हजार रुपैयाँको आय–व्यय अनुमान प्रस्तुत गरेको छ। बजेटमा कृषि, पशु, सहकारी, पर्यटन तथा आर्थिक विकासतर्फ ३ करोड ५९ लाख ३५ हजार, स्वास्थ्य, शिक्षा, महिला, बालबालिका तथा सामाजिक विकासतर्फ १३ करोड १६ लाख २५ हजार ४० रुपैयाँ, सडक, नाला तथा अन्य पूर्वाधारतर्फ १३ करोड १६ लाख ३५ हजार रुपैयाँ र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १५ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बजेट ढिलो आएकाले अब कार्ययोजना बनाएर प्रभावकारी रुपमा समयमै कार्यान्वयन गर्न सुझाव दिए। उनले सम्भवतः कार्यकालको अन्तिम बजेट भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न आग्रह गरे।

