


भैरहवा, २ भदौ। जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देही-३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयसँग स्पष्टीकरण माग गरेको छ।
लुम्बिनी प्रदेश सरकारलाई निर्णयविपरीत मतदान गरेके भन्दै पार्टीले पाण्डेयसँग सात दिनभित्र लिखित जवाफसहित स्पष्टीकरण माग गरेको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभामा विश्वासको मत लिँदा जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
तर, पाण्डेयले पार्टीको निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेको भन्दै जसपाले उनको कदमलाई पार्टी नीति, निर्णय र निर्देशन उल्लंघनका रुपमा लिएको छ।
महासचिव डा. सुरेन्द्रकुमार झाले हस्ताक्षर गरेको पत्रमा पाण्डेयसँग पार्टी निर्णयविपरीत मतदान गर्नुको कारण र अनुशासन उल्लंघन भए–नभएकोबारे जवाफ मागिएको छ।
तोकिएको समयभित्र स्पष्टीकरण नआए वा जवाफ चित्तबुझ्दो नभए पार्टी विधानअनुसार आवश्यक कारबाही अघि बढाउने जसपाले चेतावनी दिएको छ।


