


मर्चवार,१७ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले ३५ लाख १७ हजार ३८४ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
कोटहीमाई गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तलबबाट २० लाख १७ हजार ३८४ रुपैयाँ र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १५ लाख रुपैयाँ गरी कुल ३५ लाख १७ हजार ३८४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले देश विपद्को पीडामा रहेका बेला पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको बताए।
सहयोग रकमअन्तर्गत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षले एक महिनाको सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ । त्यस्तै, कार्यपालिका सदस्यका तर्फबाट प्रतिव्यक्ति ५ हजार रुपैयाँ र गाउँसभा सदस्यका तर्फबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सनोजकुमार चौधरीले जानकारी दिए।
यसैगरी अधिकृतस्तरका कर्मचारी तथा उच्च माध्यमिक र माध्यमिक तहका शिक्षकको ७ दिनको तलब, सहायकस्तरका कर्मचारी तथा निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकको ५ दिनको तलब तथा श्रेणीविहीन र अन्य कर्मचारीको २ दिनको तलब सहयोग गर्ने बैठकले निर्णय गरेको छ।
निर्णय भएको रकम गाउँपालिकाको बैंक खाता सञ्चालनमा आएपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले जानकारी दिए।

