


काठमाडौं,१९ भदौ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवालगायत जिल्लाको शुक्रबार स्थलगत अनुगमन तथा अवलोकन गरेका छन्।
अनुगमनका क्रममा आईजीपी कार्कीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले गरिरहेको उद्धार तथा खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरणलगायतका कामबारे जानकारी लिएका छन्।

उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग पनि छलफल गरेका थिए । छलफलमा प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणलाई प्रभावकारी बनाउने र समग्र विपद् व्यवस्थापनलाई व्यवस्थित तथा पारदर्शी रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो ।
बाढी प्रभावित क्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै आईजीपी कार्कीले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।
उद्धार तथा खोजी कार्यमा आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको उच्चतम प्रयोग गर्दै कुनै कसर बाँकी नराख्न उनले निर्देशन दिए ।
आईजीपी कार्कीले बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार र हिंसाका घटनाप्रति थप संवेदनशील हुन प्रहरीलाई निर्देशन दिए । विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।
त्यस्तै, स्थानीय तहसँग आवश्यक समन्वय गरी राहत वितरणलाई पारदर्शी बनाउन सक्रिय भएर काम गर्न उनले प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
स्थलगत अनुगमनमा आईजीपी कार्कीसँगै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकृतहरू सहभागी थिए।

