

भैरहवा, १६ असोज। रुपन्देहीको भैरहवामा एक किलो सुनसहित एक जनालाई महिलालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका–१९ को ४६ वर्षीया ईला पटेल रहेको प्रहरीले जनाएको छ।

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीका डीएसपी गोपीकृष्ण भट्टराईको टोली र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा भारतबाट आएकी पटेललाई चेकजाँचको क्रममा सुनका गरगहनासहित पक्राउ गरेको हो।
सशस्त्रका डीएसपी भट्टराईका अनुसार, नियन्त्रणमा लिइएको पटेलको साथबाट २ किलो ६०५ ग्राम विभिन्न किसिमका सुन जस्तो देखिने पहेलो पदार्थबाट बनाईएका गरगहना बरामद भएका थियो।
बरामद गरगहनाको परिक्षणको गर्दा उक्त परिमाणमध्ये दुई करोड ५१ लाख बढी रुपैयाँ बराबरको एक किलो शुद्ध सुन पुष्टि भएको उनले बताए।
पक्राउ परेकी महिला र बरामद सुन आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



