


नुवाकोट,२९ पुस ।
नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सडकले विकासको धेरै ठेलो सम्भावना खुलेको बताएका छन् ।
‘मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ’, नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’

उनले थपे- ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, विजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ । ०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो ।’
उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको बताउँदै उनले विगत जस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको र उत्पादनको सम्भावनालाई प्रयोग गर्न उनले आग्रह गरे ।
उनले उत्पादन क्षेत्रसँग जोड्ने बाटो निर्माणका लागि बजेट विनियोजन र सिँचाई आयोजनाका योजनाहरु पनि राखिएको बताए ।
‘सडक निर्माणमा एकै पटक बजेट राख्न सकिँदैन । देशमा आवश्यकता धेरै छन्, आम्दानी थोरै छ । अर्थमन्त्रीले देशैभरि हेर्नुपर्छ, मैले नुवाकोटलाई मात्र हेर्न मिल्दैन’ उनले भने, ‘नुवाकोटमा अझ धेरै बजेट राख्ने चाहना हुँदाहुँदै छुट्न गएको छ, ती आउँदा दिनमा समेटिने छन् ।’

