


भैरहवा, २ असार। मुलुकको मध्य तथा पश्चिम तराईमा अझै केही दिनसम्म अत्याधिक गर्मी हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै मध्य तथा पश्चिम तराईका भू-भागहरुमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आगामी चार दिन (असार ३ गतेदेखि ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।


तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिन्छ।
तातो हावा तथा तातो लहरबाट बच्नका लागि बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ।

