
भैरहवा, १५ असार। नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ । महासंघको सदस्यता विवादको टुंगो नलगाई निर्वाचन कार्यतालिका र मतदाता नामावली समेत प्रकासित गरेको विरोधमा युनियनले शनिबार नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा तालावन्दी गरेको हो ।
नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको नेतृत्वमा केन्द्रीय सदस्यहरु रेखा भुसाल, विजय पोखरेल, प्रदेश समितिका कोषाध्यक्ष सिपि खनाल सहित युनियन रुपन्देहीका पदाधिकारी सदस्यहरुले महासंघ रुपन्देहीको अध्यक्ष तथा पदाधिकारीको कार्यकक्ष, सचिवालय र बैठक कक्षमा तालावन्दी गरिएको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यालय भित्र महासंघ लुम्बिनी प्रदेशको समेत कार्यालय रहेकोले युनियन रुपन्देहीको तालावन्दीले प्रदेश समितिको कामकारवाहीमा समेत प्रभाव परेको छ ।पत्रकार महासंघले विधान विपरित सदस्यताको टुंगो नलगाई निर्वाचन कार्यतालिका सार्वजनिक गरेकोमा युनियनले विरोध गर्दै आएको थियो । महासंघले सदस्यका लागि फरक फरक मापदण्ड अपनाएकाले त्यसरी गरिएको निर्णय नसच्याउँदा सम्म ताला नखोलिने युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले बताए ।
महासंघको केन्द्रीय समितिले जिल्ला शाखाले पठाएकोमा नामवली आफुखुसी काट्ने र थप्ने कार्य भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ । सदस्यता विवाद समाधान नगरी निर्वाचन कार्यतालिकामा अगाडि बढेपछि नेपाल प्रेस युनियनको केन्द्रीय समितिले महासंघको केन्द्रीय कार्यालयमा शुक्रबार नै तालावन्दी गरेको थियो भने जिल्ला शाखाहरुमा पनि तालावन्दी भईरहेको छ।

