
भैरहवा, १७ असार । मानव बेचबिखन, गैरकानुनी रुपमा बसाई लगायत आरोपमा नेपालका विक्रान्त थापा (३९) केन्या प्रहरीको सार्वधिक खोजीको सूचीमा छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि धेरै खोजबिन गर्यो । तर, पक्राउ गर्न नसकेपछि उसले अन्ततः अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग माग्नु पर्यो । केन्या प्रहरीको सिफारिसको आधारमा इन्टरपोलले विश्वभर (१९६ मुलुक) जहाँ देखिएपनि पक्राउ गर्नका लागि थापाविरुद्ध ‘रेड नोटिस’ जारी गर्यो ।
त्यस्तै एक दशमलव ७२ मिटर उचाईँ, ६५ किलो तौल, कालो रंगको कपाल र आँखा भएका बारा, कलैयाका नुर मोहम्मद अन्सारी भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् । नक्कली नोटको कारोबार र आतंकवादी गतिविधीमा संग्लन आरोपमा भारतीय प्रहरीले उनलाई कुना–कुना सम्म खोज्यो । तर, फेला पार्न नसकेपछि इन्टरपोलको सहायता लिन पर्यो । भारतीय प्रहरीकै सिफारिसमा इन्टरपोलले अन्सारी विरुद्ध ‘रेड नोटिस’ जारी गर्यो । अरबी, उर्दु र हिन्दी भाषमा कुराकानी गर्न जानेका ३९ वर्षीय अन्सारीलाई भारत सहितका १९६ देशका प्रहरीहरुले अहिले पनि खोजी जारी राखेका छन् ।
Advertisement

Advertisement
Advertisement


यस्तै ठेगाना नखुलेको नेपालका भीमे दमाईँको एक दशमलव ६८ मिटर उचाईँ, कालो रंगको कपाल र आँखा रहेको उनको शारीरिक विवरण प्रहरी रेर्कडमा छ । हत्याको आरोपमा ४२ वर्षीय उनी पनि भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा समावेश छन् । उनलाई पनि भारतीय प्रहरीले पक्राउ गर्न नसकेपछि इन्टरपोलमा सिफारिसको माध्यमले ‘रेड नोटिस’ जारी गर्न लगाएर दमाईँको विश्वभर खोजी भइरहेको छ ।
इन्टरपोलका अनुसार विभिन्न मुलुकमा अपराध गरेको/आरोपमा सार्वधिक खोजीको सूचीमा नेपालका १५ नागरिकविरुद्ध ‘रेड नोटिस’ जारी भएको छ । विभिन्न मुलुकमा अपराध गरेर फरार भएपछि सोही देशको सिफारिसका आधारमा अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीहरुको प्राप्त सम्पूर्ण विवरण सहितको ‘रेड नोटिस’ जारी गरेको छ । विश्वभरका १९६ राष्ट्र इन्टरपोलका सदस्य छन् । इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेपश्चात इन्टरपोलका सदस्य सबै मुलुकमा सम्बन्धित व्यक्तिको फोटो सहितको सम्पूर्ण विवरण पठाउने गर्दछ । सम्बन्धित व्यक्तिलाई इन्टरपोलको सदस्य भएको राष्ट्रले पक्राउ गरेर ‘रेड नोटिस’ जारी गर्न लगाएको सम्बन्धित देशलाई पठाउने गर्दछन् ।
‘रेड नोटिस’ जारी भई ‘मोस्ट वान्टेड’ सूचीमा नेपालका उमेश सापकोटा(४२), राजेश भागादुर(३५),रमेश भागादुर(३५), प्रेम सिंह(३७), डोलबहादुर राजबहादुर शाही(५६), इन्द्रबहादुर चित्र साभाद(४१), खुमराज थापा(४४), नान्नु मगर(४२) विक्रान्त थापा(३९), विरबहादुर मगर(५१), बिनबहादुर सूर्य तामाङ्ग(४६), नुर मोहम्मद अन्सारी(३९), फुलचन्द शिवराज शर्मा(४०), भिमे दमाईँ(४२) र ठुलराम बहादुर(४५) रहेको इन्टरपोलले जनाएको छ । नेपालका यी १५ नागरिकलाई अहिले इन्टरपोलको सदस्य १९६ मुलुकका प्रहरीहरुले खोजी गरिरहेका छन् । तर, यी मध्ये केही वर्षौ देखिपनि पक्राउ पर्न सकेका छैनन् ।
सन् १९२३ मा इन्टरपोलको स्थापना भएको थियो । सन् १९६७ सेप्टेम्बर २७ तारिखमा इन्टरपोलको ३६ औँ महासभाबाट नेपाल १०० औँ सदस्य राष्ट्रको रुपमा इन्टरपोलको सदस्य भएको थियो । प्रत्येक सदस्य राष्ट्रमा विश्वभरका सदस्य राष्ट्रहरुसगँ सम्पर्क राख्नका लागि नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) स्थापना गरिएको छ । एनसिबीले इन्टरपोल मार्फत कुनै प्रकारको नोटिस जारी गर्नका लागि सिफारिस गर्ने, सदस्य राष्ट्रहरुबीच सूचना आदानप्रदान गर्ने, सूचनाहरु विश्लेषण गर्ने, खोजी सूचीमा रहेका व्यक्तिलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउने लगायत कार्यहरु गर्दै आएको छ ।

