
चितवन, ३० असार । चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेको दुई बस र यात्रुहरुमध्ये पाँच जना यात्रुहरुको शव फेला परेको छ । फेला परेको शवमध्ये तीनजनाको परिचय खुलेको छ । चितवनाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव फेला परेको हो । अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।
भरतपुर महानगरपालिका-२९ सिमलतालमा गत असार २८ गते बिहान वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस त्रिशूली नदीमा खसेका थियो । बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने बताइएको छ । प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्धारकर्मीहरुले बस र यात्रुको खोजी सुरु गरेका छन् ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार घटनामा कुल ६५ यात्रु परेको देखिएको, ती मध्ये ३ जना पौडिएर बाँच्न सफल भएको र पाँच जनाको शव फेला परेका छ । अझै ५७ जना यात्रुको अवस्था अज्ञात रहेकोले खोजी कार्य जारी रहेको छ । बीचबाटोमा यात्रुहरु चढेकोले बसको चलानी अनुसार भन्दा बसमा यात्रुको संख्या बढी रहेको थियो ।

