
काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिकाको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले मंगलबार महानगरपालिकाको श्रम बैंकमार्फत भएको उपलब्धी सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गर्दै तीन सय २९ जनालाई निजी क्षेत्रमा र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी उपलब्ध गराइएको बताएका छन् ।
महानगरपालिका अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा सीप मेलामार्फत दुई हजार पाँच सय ५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत एक हजार चार सय ६७ जना र अनलाइनमार्फत दुई हजार गरी कुल ६ हजार २२ जनालाई तालिम प्रदान गरिएको थियो । जसमध्ये तीन सय २९ जनालाई विभिन्न निजी कम्पनीहरुमा र ५ सय ८३ जनालाई महानगरका विभिन्न विभागहरुमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको हो ।
Advertisement

Advertisement
Advertisement

‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाएर १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अघि बढाएको हो’, मेयर बालेनले आफ्नो फेसबुक स्ट्याटस मार्फत भनेका छन्, ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१९ गरी कुल ९१२ जनाले रोजगारी पाएका छन् ।’ महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब आठ सय जना युवा–युवतीहरु रोजगार र स्वरोजगार भएका स्ट्याटसमा उल्लेख गरिएको छ ।
लक्ष्य भन्दा कम भएतापनि गत आर्थिक वर्षमा एक हजार सात सय जनालाई रोजगार र स्वरोजगार बनाउन महानगर सफल भएको उनको भनाई छ । चालु आर्थिक वर्ष २०८१/८२ मा ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ दुवै योजनाहरुलाई थप परिस्कृत गरी लक्ष्यभन्दा बढी उपलब्धी हासिल हुने बजेट तथा कार्यक्रमहरु ल्याइएको भन्दै उनले सीप मेलामा फारम भरेका सम्पूर्णलाई तालिम तालिका अनुसार तालिम उपलब्ध गराइने बताएका छन् ।
एउटै पदका लागि दश जना भन्दा बढी जनशक्ति आवश्यक भएको अवस्थामा सम्बन्धित निजी क्षेत्र (व्यवसाय, संघसंस्था कार्यालय) कै पाठ्यक्रममा आधारित तालिम प्रदान गरेर दक्ष जनशक्ति पठाउने व्यवस्था समेत मिलाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

