
भैरहवा, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले २४ घण्टा समय दिदै नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । जसअनुसार काँग्रेस–एमालेको समीकरण र सहमती अनुसार ५६ सांसदको समर्थन सहित आचार्यले प्रमुख शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि आवश्यक ४४ मतमा आचार्यले आफ्नो पार्टीको २९ र काँग्रेसका २७ जना प्रदेशसभा सदस्यको बहुमत समर्थनसहित दाबी पेश गरेका हुन् । केन्द्रमा काँग्रेस–एमालेले गठबन्धन गरेर नयाँ सरकार गठन सहित प्रदेशमा नेतृत्वको समेत भागबण्डा गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशमा सरकार नेतृत्वको एमालेले गर्ने तय भएको थियो । सोही सहमती अनुसार काँग्रेसको समर्थनमा एमालेले सोमबार मुख्यमन्त्रीमा दाबी पेश गरेको हो । अर्घाखाँची १ (क) बाट निर्वाचित आचार्य यसअघि आर्थिक मामिला तथा योजनामन्त्री थिए । प्रदेश प्रमुख शेरचनले सोमबार (आज) साँझ साढे ६ बजेसम्मको समय तोकेकोले आचार्यलाई आजनै मुख्यमन्त्रीमा नियुक्ति गर्ने बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

सोमबार बिहानसम्म लुम्बिनीमा प्रदेश एमालेको तर्फबाट पार्टी उपाध्यक्ष विष्णु पौडेल गुटका मानिने लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि पार्टीभित्रको गुटगत राजनीतिका कारण अन्तिम समयमा पार्टी महासचिव शंकर पोखरेल हावी भएपछि पोखरेल गुटका मानिने आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको हो । पौडेल र पोखरेलबीच पार्टीको लुम्बिनी प्रदेश कमिटीको निर्वाचनमा समेत चर्को गुटबन्दी भएको कार्यकर्ता स्तरमै झांगिएको थियो । मुख्यमन्त्रीमा आचार्यलाई अघि सारिएपछि गिरीले असन्तुष्टि जनाएका छन् ।
सोमबार एक संचारमाध्यमसगँ कुराकानी गर्दै उनले यो निर्णय संसदीय मूल्यमान्यता विपरीत भएको टिप्पणी गरे । उनले उक्त संचारमाध्यमसगँको कुराकानीमा भनेका छन्– ‘अब मैले के गर्ने भन्दा पनि पार्टीले आफ्नो प्रक्रियाअनुसार मुख्यमन्त्री छान्छ । तर यो संसदीय मूल्यमान्यताविपरीत छ । पार्टी विधि अनुसार भएको हो भन्ने मलाई लाग्दैन । म के भएँ, के भइनँ भन्दा पनि यस्तो किसिमको प्रवृत्तिले इमानदार कार्यकर्तालाई खटेर काम गर्न उत्प्रेरित गर्दैन । प्रणाली बिगार्न किन नेताहरु लाग्नुभयो होला, मैले बुझेको छैन ।’ आचार्यले मुख्यमन्त्रीमा दावी पेश गरेपछि असन्तुष्ट संसदीय दलका नेता गिरीले आफू पक्षका नेताहरुको बैठक डाँकेको बुझिएको छ ।

