
भैरहवा, ९ साउन । नेकपा एमालेमा गुटबन्दी राजनीतिको प्रभाव लुम्बिनी प्रदेशमा देखिएको छ । केन्द्रमा काँग्रेस–एमालेले गठबन्धन गरेर नयाँ सरकार गठन सहित प्रदेशहरुमा नेतृत्वको समेत भागबण्डा गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशमा सरकार नेतृत्व एमालेको भागमा परेको थियो । सोही सहमती अनुसार काँग्रेसको समर्थनमा एमालेका संसदीय दलका नेता लिला गिरीले सोमबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी थियो । तर, दावी पेश गर्नु केही घण्टा अघि मात्र केन्द्रबाट संसदीय दलका नेता गिरीको स्थानमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन आएपछि असन्तुष्टिका साथ गिरी ‘ब्याक’ हुनुपर्यो ।
प्रदेश र जिल्लाका पार्टीपंक्तिमा गुटको प्रभावले मुख्यमन्त्री फेरिएको सबैले सहजै अनुमान लगाए । पार्टी अध्यक्ष ओलीले पनि गिरीलाई टेलिफोन संवादमा ‘यसपालि यस्तै भो’ भन्ने जवाफ फर्काए । पार्टीमा नेता गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल गुटका र आचार्य एमाले महासचिव शंकर पोखरेलका गुटका मानिन्छन् । पौडेल र पोखरेबीच गुटबन्दीको राजनीति पार्टीको लुम्बिनी प्रदेश कमिटीको निर्वाचनमा समेत कार्यकर्ता स्तरमै झांगिएको थियो ।
Advertisement

Advertisement
Advertisement

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेता रहँदा समेत मुख्यमन्त्री नभएपछि गिरीले उक्त पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई आफुले राजीनामा पठाएको जानकारी दिए । संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि उनले निर्णय संसदीय मूल्यमान्यता विपरीत भएको भन्दै असन्तुष्टि जनाएका थिए । पदबाट राजीनामा दिएका गिरी बुधवार मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण समारोहमा समेत उपस्थित भएनन् । लिला गिरी एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । उनी रुपन्देही क्षेत्र नम्बर २ (१) बाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

