


भैरहवा, १० साउन । भारत सरकारले सुन र चाँदीको आयातमा कर घटाएसँगै सीमावर्ती क्षेत्रबाट नेपालमा सुन र चाँदीको तस्करीको जोखिम बढेको छ । भारतको वृत्तमन्त्री निर्मला सीतारमणले अगामी आर्थिक वर्ष २०२४/०२५ को बजेट प्रस्तुत गर्दै सुन र चाँदीको आयातमा कर घटाइएको बताइन् । नेपाल सरकारले चालु आर्थिक वर्ष देखि सुन आयातमा कर बढाएर बजारमा सुनको मूल्य बढाउने नीति लिदाँ भारतले सुन आयातमा लाग्ने कर घटाएर सुन तथा चाँदीको गहनाको मूल्य घटाउने नीति लिएको छ । जसकारण भारतमा सुन–चाँदीको मूल्य सस्तो हुदाँ खुल्ला सीमानाकाबाट नेपालमा सुन–चाँदीको अवैध रुपमा तस्करी बढ्ने जोखिम देखिएको छ ।
नेपाल भन्दा भारतमा सुन र चाँदी थोरै सस्तो भएकोले छिटफुटमा तस्करी हुदै आएपनि बजेट पश्चात दुवै मुलुकका बीच सुन र चाँदी मूल्यमा पहिला भन्दा अन्तरबढी भएकोले तस्करीको जोखिम बढेको सुन चाँदी व्यवासायीहरु बताउँछन् । जसको असर सीमावर्ती जिल्लामा बजेट अघि नै देखिएको छ । गत असार २० गते रुपन्देही प्रहरीले रोहिणी गाउँपालिका–७ स्थित भारतबाट तस्करी गरेर ल्याउँदै गरेको ७ तोला बढी सुनका गहना र साढे ८ किलो चाँदीका गहना सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

भारत सरकारले सुन र चाँदी आयातमा १० प्रतिशत भन्सार महसुल र ५ प्रतिशत कृषि अवसंरचना विकास उपकर गरी १५ प्रतिशत कर लिदै आएको थियो । तर, वृतमन्त्री सीतारमणले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि भन्सार महसुल ५ प्रतिशत र कृषि अवसंरचना विकास उपकर एक प्रतिशत गरी सुन र चाँदी आयतमा कुल ६ प्रतिशत कर मात्र लिइने घोषणा गरिन् । यता नेपाल सरकारले भने चालु आर्थिक वर्षदेखिको लागि गत जेठ १५ गते बजेट सार्वजनिक गरी सुन आयात लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल बढाएर २० प्रतिशत पुराएको थियो । त्यस्तै चाँदी आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्ने गर्दछ ।
भारतको नीतिले भारतमा सुनका गहना नेपालभन्दा प्रतिग्राम २५ प्रतिशतसम्म सस्तो हुन सक्ने भएकाले सीमावर्ती भारतीय बजारमा सुनको खरिदविक्री बढ्न सक्ने अनुमान गरिएको छ । र, सोही कारोबारको सुन र चाँदीका गहना अवैध रुपमा नेपालमा सहजै भित्रिन लागेमा नेपाली व्यवसायी मारमा र रोजगारीमा समेत असर पर्ने देखिएको छ । सीमावर्ती भारतीय बजार क्षेत्रमा २२ क्यारेट र नेपाली क्षेत्रमा २४ क्यारेटको सुन बढी घरायासी प्रयोगमा रहेपनि नेपाली बजारको माग अनुसार भारतीय बजारमा २४ क्यारेट सुनका गहनाको कारोबार समेत हुन सक्ने र नेपालमा सहजै भित्रिने सम्भावना छ ।
नेपालको कानुन अनुसार विदेशबाट पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म सुन ल्याउन पाउँछन् । जस अनुसार सीमावर्ती बजारमा समूह बनाएर खाद्यन्न वस्तु खरिद गर्न जाँदा एक/दुई सय ग्राम वा त्यो भन्दा बढी सुनका गहना खुल्ला सीमाबाट सहजै ल्याउने सक्ने सम्भावना पनि छ । कानुनकै आडमा नागरिकहरु अपराधमा संग्लन हुन सक्ने जोखिम पनि उत्तिकै बढ्ने देखिएको छ । ‘नेपालमा सुनमा २० प्रतिशत र चाँदीमा १५ प्रतिशत जुन भन्सार राजस्व लाग्छ त्यो धेरै भयो’, सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्य भन्छन्,‘अब भारतमा सुन र चाँदीको मूल्य सस्तो हुदाँ त्यसको प्रभाव नेपालको बजारमा पर्छ नै र अवैध कारोबारको पनि बढ्ने जोखिम हुन्छ ।’
सुन चाँदीको कारोबार गर्ने एक व्यवसायीका अनुसार नेपालमा सुन चाँदीका गहना खरिद गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ भने भारतमा खरिद गर्दा ३ प्रतिशत गुड्स तथा सर्भिस ट्याक्स (जीएसटी) लाग्ने गर्दछ । जस अनुसार नेपाल भन्दा भारतमा सुन र चाँदीको गहना खरिद गर्दा जीएसटी १० प्रतिशत कम लाग्ने भएकोले भारतमा गहना खरिद गर्न नेपालीहरु आर्कषित हुन सक्छन् । सीमावर्ती भारतीय बजारका व्यवसायीले नेपाली बजारमा चलेको डिजाईन अनुसार २४ क्यारेटको सुनका गहना उपलब्ध गराउन थाले भारतमा व्यापार ह्वात्तै बढ्ने र तस्करी पनि बढ्ने ती व्यवसायीको दावी छ ।

