
भैरहवा, २० साउन । अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । लामो समय देखि विरामी रहेका पन्तको सिद्धार्थनगर नगरपालिका-६ (भैरहवा) दुर्गाकलोनीस्थित निवासमा ६६ वर्षको उमेरमा आईतबार राति ९:१० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
दशकौ देखि पत्रकारिता क्षेत्रका साथै लुम्बिनीको पर्यटन प्रर्वद्धनमा समेत उनले योगदान पुर्याउँदै आएका थिए । समाचार, लेखसँगै देश-विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो/भीडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी/नेपाल भ्रमणको निम्तो दिने लगायतका कार्यहरु मार्फत पर्यटन प्रर्वद्धनका लागि अभियान नै चलाएका थिए । पत्रकारिताको माध्यमले भैरहवा,लुम्बिनी लगायत क्षेत्रको विकासका लागि लामो समय देखि कलम चलाउँदै आएका थिए ।
Advertisement

Advertisement
Advertisement

पन्तको निधनले पत्रकारिता जगतसँगै भैरहवा क्षेत्र शोकमग्न भएको छ । पत्रकार, उधोगी, व्यवसायी, नेता, सामाजिक अभियान्ता, विधार्थीलगायतले निधनप्रति दु:ख व्यक्त गरेका छन् । सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले पत्रकार पन्तको निधनप्रति दु:ख व्यक्त गर्दै उनको निधनले सिद्धार्थनगर नगरपालिकासँगै देशलाई अपूरणीय क्षति पुगेको बताए । लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले निधनप्रति दु:ख व्यक्त गर्दै पत्रकार पन्तको निधनले पत्रकारिता जगतले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएकोले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन् ।
अर्बुद रोगबाट ग्रसित पत्रकार पन्तको सोमबार बिहान ९ बजे भैरहवाको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।

