
भैरहवा, २१ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने भएकोले सर्तकता अपनाउनका लागि अनुरोध छ । महाशाखाले सोमबार मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै भारी वर्षाका सम्भावना कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३६ जिल्लालाई मध्यम जोखिमको पूर्वानुमान गर्दै ‘डार्क यल्लो अलर्ट’ को सूचीमा राखेको छ । यस्तै गण्डकी, कर्णाली, सुदूरपश्चिमका ७ जिल्लामा निम्न जोखिमको सम्भावना रहेको जनाएको छ ।
कोशी प्रदेशको ‘रेड अलर्ट’ मा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम जिल्ला परेका छन् । बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिंग, नुवाकोट, दोलखा रहेका छन् भने गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ, गोरखा जिल्ला रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दांग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँचीलाई ‘रेड अलर्ट’ को सूचीमा राखिएको छ । सुदूरपश्चिमको कैलाली, कंचनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि उच्च जोखिमको सूचीमा समावेश गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

हेर्नुस कुन जिल्ला कति जोखिममा ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।
साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउनका लागि महाशाखाले अनुरोध गरेको छ । मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको बुलेटिनमा उल्लेख छ । ‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भवाना रहेको बताइएको छ ।

