


काठमाडौं, २३ साउन । भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन् । एमाले-कांग्रेसको संयुक्त सरकार बनेपछि भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशसचिव मिश्री अर्को साता काठमाडौं आउने छन्।
भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई भेटघाट गर्ने बताइएको छ । साथै, समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।

यद्यपी, नेपाल भ्रमणबारे नेपाल र भारतका सरकारी अधिकारीहरूले औपचारिक रुपमा केही भनेका छैनन् । उनी गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो। विनयमोहन क्वात्राले अवकास पाएपछि मिश्री भारतीय विदेशसचिवमा नियुक्त भएका हुन्।

